Techie IT
×
गृहपृष्ठस्वास्थ्यनेपालमा कोरोना : सङ्क्रमित सङ्ख्या १६ हजार नाघ्यो

नेपालमा कोरोना : सङ्क्रमित सङ्ख्या १६ हजार नाघ्यो


काठमाण्डौ, २३ असार । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई सय चार जनामा कोरोना पुष्टि भएको छ । विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा दुई सय चार जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार एक सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मङ्गलबार काठमाण्डौका १४, ललितपुरका १० र भक्तपुरका चार जनामा पनि सङ्क्रमण देखिएको छ । अहिलेसम्म उपत्यकाभित्र ठेगाना राख्ने सङ्क्रमितको सङ्ख्या दुई सय ६७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा काठमाण्डौका एक सय ७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना सङ्क्रमित रहेका छन् ।

प्रदेश नम्बर २ को महोत्तरी र रौतहट, प्रदेश नम्बर ५ को पाल्पा र सुदूरपश्चिम प्रदेशको अछाम कैलाली र बाजुरामा पाँच सयभन्दा बढी सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेका छन् । नेपालका चार जिल्ला– तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएका छन् ।

सरकारले स्वास्थ्यकर्मीलगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारीसमेत गरेको जनाएको छ । पीसीआर विधिबाट मङ्गलबार ६ हजार एक सय ३३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ६१ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २५ हजार सात सय २७ जना क्वरेण्टीनमा रहेका छन् । देशभरिका विभिन्न अस्पतालमा आठ हजार ६ सय ३४ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

मङ्गलबार ६ सय ८८ सहित आजसम्म सात हजार चार सय ९९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो समय सङ्क्रमणको दर घटेको र निको भएर घर फर्किनेको सङ्ख्या बढेको बताए ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस