कोरोनाका तीन सय ३१ जना संक्रमित थपिए
काठमाडौं, ६ असार । कोरोना भाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार दिएको सूचना अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।
‘४९ जना महिला र दुई सय ८२ जना पुरूष गरी तीन सय ३१ जना संक्रमित भेटिएका छन्,’ गौतमले भने।
गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ। जसमध्ये महिला सात सय ५६ जना छन् भने पुरूष सात हजार आठ सय ४९ जना रहेको उनले बताए।
अहिलेसम्म ७४ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्। कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन्।
शुक्रबारसम्म नेपालमा आठ हजार दुई सय ७४ कोरोनाका विरामी थिए। कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन नभएको गौतमले बताए।
क्याटेगोरी :
स्वास्थ्य
ट्याग : #Corona