Techie IT
×
गृहपृष्ठअर्थचियापछि अलैँची निकासीमा भारतको अवरोध

चियापछि अलैँची निकासीमा भारतको अवरोध


विराटनगर, ३२ जेठ । नेपालमा उत्पादन हुने कृषिजन्य नगदे बाली चिया र अलैँची निकासीमा भारतको पश्चिम बङ्गाल सरकारले रोक लगाएपछि व्यवसायी चिन्तित बनेका छन् । काकडभिट्टा नाका हुँदै निकासीका लागि काँकडभिट्टा भन्सारमा पु¥याएको अलैँची र चिया पश्चिम बङ्गाल सरकारको अवरोधका कारण रोकिएको छ ।

भन्सार कार्यालय प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार १० दिनयता नेपाली निर्यातकर्ताले अलैँची निकासी गर्न सकेका छैनन् । यसअघि चिया निकासीमा समेत अवरोध गरेपछि विराटनगर भन्सार कार्यालय हुँदै निकासी सुरु गरिएको थियो ।

अलैँची निकासी गर्न नपाएपछि भन्सार कार्यालय परिसरमा १० वटा ट्रकमा २५० टन अलैँची रोकिएको हो । नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईका अनुसार काँकडभिट्टा नाकाबाट निकासी रोकिए पनि पैठारीमा समस्या छैन तर खाली ट्रक तथा ट्याङ्कर फर्काउनसमेत अवरोध छ ।

व्यवसायीले नेपाल र भारतको पानीट्याङ्की भन्सारको समेत कागजात मिलाइसकेका छन् । महासचिव भट्टराईका अनुसार त्यहाँका प्रशासनको अवरोधका कारण अलैँचीका ट्रकले प्रवेश पाउन नसकेका हुन् । व्यवसायीले पश्चिम बङ्गालको प्रहरीसँग सोधपुछ गर्दा माथिको आदेश भन्ने उत्तर आउँछ, महासचिव भट्टराईले भने, “कारण नखुलाई चियाजस्तै अलैँची निकासीमा अवरोध सिर्जना गरिएपछि समस्यामा परेका छौँ । ” बन्दाबन्दीमा केही खुकुलो भएपछि भारतबाट काँकडभिट्टा नाका हुँदै पैठारीका मालवाहक आउन दिइने गरिए पनि निकासीको मालवस्तु र फर्कनुपर्ने खाली ट्रक तथा ग्यास बुलेट र ट्याङ्कर जान रोकिएको छ ।

कृषिजन्य वस्तु निकासीमा भइरहेको अवरोधको विषयमा सरकार र कोलकातास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा जानकारी गराइसकिएको छ । समन्वयका लागि हामीले अनुरोध गरेका छौँ, महासचिव भट्टराईले भने “अहिलेसम्म प्रतीक्षा गरिरहेका छौँ । ”
व्यवसायीले छ महिनाका लागि काँकडभिट्टा हुँदै निकासीको नमुना स्वीकृति लिइसकेका छन् । ल्याबसमेत काँकडभिट्टा नाकामा रहेका कारण विराटनगर भन्सारबाट निकासी गर्दा बिहार हुँदै पुनः सिलगुडीसम्म अलैँची पुर्याउनुपर्ने बाध्यता रहेको भट्टराईले बताए ।

व्यवसायीले काँकडभिट्टा नाकाबाटै अलैँची निकासीका लागि प्रमुख जिल्ला अधिकारीमार्फत बङ्गालको प्रशासनसँग समेत कुराकानी गर्नका लागि आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रले पनि छिमेकी मुलुकको प्रशासनसँग कुराकानी गरिरहनुभएको बुझेका छौँ, महासचिव भट्टराईले भने, “हामीले यही नाका प्रयोग गर्न पाउनुपर्छ भन्ने माग राखेका हौँ । ” तीन वर्षअघि आर्थिक वर्ष २०७३/७४ सम्म विराटनगर भन्सार नाका हुँदै अलैँची निकासी हुने गरेको थियो । आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म काँकडभिट्टा नाकाबाट निकासी हुँदा सहज भइरहेको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा तीन अर्ब ९३ करोड ५५ लाख र २०७४/७५ मा चार अर्ब ८३ करोड २७ लाख रुपिँयाको अलैँची विराटनगर भन्सारबाट निकासी भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा काँकडभिट्टा नाकाबाट निकासी भएका कारण विराटनगर भन्सारबाट एक अर्ब ३२ करोड २३ लाख रुपियाँ बराबरको अलैँची मात्रै विराटनगर भन्सार कार्यालयबाट निकासी भएको थियो । विराटनगरबाट निकासी घटेपछि मेची भन्सार कार्यालयबाट दुई अर्ब ९७ करोड ८९ लाख ६३ हजार छ सय रुपियाँ बराबरको अलैँची निकासी भएको थियो ।

आर्थिक वर्ष २०७४/७५ सम्म क्वारेन्टाइनलगायतका झन्झट खेपिरहेको काँकडभिट्टा नाका सहज भएका कारण निर्यातको प्रभाव सकारात्मकदेखिन थालेका बेला पुनः झन्झट बेहोर्न व्यवसायीलाई बाध्य बनाइएको हो ।

पूर्वीपहाडी क्षेत्रमा उत्पादन भएको अलैँची वार्षिक चार अर्ब रुपियाँ बराबरको निकासी हुँदै आएको छ । गत आर्थिक वर्ष चार अर्ब २८ करोड रुपियाँ बराबरको अलैँची भारत निकासी भएको महासचिव भट्टराईले जानकारी दिए ।

यस अगाडि काँकडभिट्टा नाकाबाट निकासी हुने चियामा समेत रोक लागेपछि विराटनगर भन्सार कार्यालयबाट निकासी हुँदै आएको छ ।  नेपालबाट वार्षिक रूपमा ७० लाखदेखि एक करोड केजी चिया भारत निर्यात हुँदै आएको छ । चिया व्यवसायी भक्ति अधिकारीका अनुसार भारतको पश्चिम बङ्गालका किसान र व्यापारीको भनाइमा लागेर निर्यातमा रोक लगाइएको हो ।

काँकडभिट्टा नाकाको विकल्पमा विराटनगर जोगबनी नाका प्रयोग गर्नुपर्दा चियाको ढुवानी खर्च बढ्न जान्छ । व्यवसायी अधिकारीका अनुसार प्रतिकेजी आठ रुपियाँ ढुवानी खर्च बढ्ने भएकाले किसानलाई मार पर्ने सम्भावना छ । नेपालमा उत्पादित चियाको ८० प्रतिशत निर्यात भारतमै हुने भएकाले यो प्रावधान सच्याउन नसके पूर्वका चिया किसानको लागत मूल्य बढ्ने बताइएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस