Techie IT
×
गृहपृष्ठअर्थनेपालमा खर्बौ नाफा कमाउने बहुर्राष्ट्रिय कम्पनी कहाँ छन्, महामारीमा राज्यले खोज्नुपर्छ

नेपालमा खर्बौ नाफा कमाउने बहुर्राष्ट्रिय कम्पनी कहाँ छन्, महामारीमा राज्यले खोज्नुपर्छ


अर्थ विश्लेषण

देशले खुल्ला बजार अर्थतन्त्र नीति अवलम्बन गरेसँगै तत्कालीन समयमा देशमा चलेका राष्ट्रिय उद्योगहरु प्रायः सखाप नै भए । गोरखकाली रबर उद्योग, बिराटनगर जुट मिल्स, भृकुटी कागज कारखाना, चिनी उद्योगलगायत दर्जनौं उद्योगहरु टिक्न सकेनन् । बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र एवम् अन्य क्षेत्रमा स्थापना भएका राष्ट्रिय उद्योगहरु ओरालो लाग्ने क्रम रोकिएन । उदार अर्थतन्त्रको प्रभाव स्वरुप वैदेशिक लगानीलाई प्रवद्र्धन गर्ने परम्पराको थालनी भयो । त्यो परम्पराले राष्ट्रिय अर्थतन्त्रलाई बिर्सायो र जनताका लागि आवश्यक पर्ने दैनिक आवश्यकीय सेवा र वस्तु निजी क्षेत्रको हातमा गयो । निजी क्षेत्रले आफ्ना लगानी नाफामा नै केन्द्रित गर्ने भएकाले कृषि क्षेत्र उपेक्षित भयो । सजिलै नाफा कमाउने सेवा र पाटोमा नै बढी निजी क्षेत्रको चाख बढ्दै गयो र जनताले सर्वसुुलभ रुपमा आवश्यकता पूर्ति गर्ने अवसर गुम्दै गयो र सामाजिक परिस्थिति नै धुमिल भएर अर्थतन्त्रमा राज्यको पक्कड गुम्दै गयो । त्यसैको परिणाम स्वरुप आजको चरम उपभोक्तावादी र बिचौलिया समाज सिर्जना भयो । अहिले कसैले अर्थतन्त्रको मर्म बुझ्दैन, उपभोक्ता अधिकार र हित कसैले बुझ्दैन । बहस, छलफल र अन्तरक्रिया केवल नाफाका लागि मात्र हुने गरेको छ ।

फलस्वरुप नाफाका लागि प्रतिस्पर्धा भएको बजारमा उपभोक्ता अधिकार निरीह भए । राष्ट्रिय अर्थतन्त्रको कुनै वास्ता भएन । सोही कारण विश्वव्यापी रुपमा फैलिएको महामारीका समयमा पनि नाफाकै चर्चा भइरह्यो । यहाँ नागरिकले खाना पाए, पाएनन् भन्ने कुनै विषयमा बहस भएन । खान पाएका नागरिकले पनि कुन खाद्य वस्तु कति मूल्यमा खरिदबिक्री भए भन्ने कुनै लेखाजोखा भएको देखिएन । दैनिक उपभोग्य वस्तुको भाउ आकासिँदा पनि राज्य मौन रह्यो । व्यापारीले दाल, चामल लगायत खाद्यान्न मूल्य मनलाग्दी लिए, लिइरहेका छन् । तरकारी एवम् फलफूलको मूल्य पनि छोइ नसक्नु छ । सरकारले पनि महामारीको समयमा तिनै व्यापारीलाई सहज वातारण सिर्जना हुने गरी निर्देशिका बनाउनेतिर लाग्यो तर उनीहरुले उपभोक्तालाई नराम्रोसँग ठगिरहेका छन् भन्नेतर्फ सोचेन । बाध्यतामा चर्को मूल्य लादियो । यस्तो विषम परिस्थितिमा पनि नाफाखोर मौलायो । दैनिक रोजगारी गुमाएका सर्बसाधारण जनता महङ्गीको मारमा पिल्सिए । उनीहरु झनै गरीवीको खाडलमा भाँसिदै गए, अझै उनीहरु गरीवीको यात्रामा छन् ।

नाफामुखी उद्योगीलाई नै बढी फाइदा दिने गरी नीति बनाएकै कारण राष्ट्र र जनताले यस्तो मार खेप्नु परेको हो । यो राज्यको नीतिगत कमजोरी हो । जसका कारण जनताको दैनिक जीवन नै नराम्रोसँग प्रभावित भएको छ भने धनीलाई झनै धनी र गरीवलाई अझै गरीव बनाउँदै लगेको छ । नीतिगत कमजोरीका उदाहरण अनगिन्ती छन् । नेपालमा सबैभन्दा नाफा कमाएका उद्योग तथा व्यवसायहरु जनताको जीवनलाई सार्थक तुल्याउनेभन्दा पनि भड्काव शैली प्रवद्र्धन गर्ने खालका छन् । जस्तो डाबर, युनिलिभर, सूर्य नेपाल, एशियन पेन्ट्स, बर्जर जेन्सन एण्ड निकोल्सनलगायत क्षेत्रले न्यून आय भएका सर्वसाधारण जनताको दैनिक जीवनमा बोझ मात्र थपेका छन् । यस्ता उद्योगहरु कहिल्यै पनि घाटा व्यहोर्नु परेन, सदाबहार जनतालाई भुलभुलैयामा राखेर नाफा कमाइ नै रहे । खुल्ला अर्थतन्त्रका नाममा भित्रिएका यस्ता उद्योगधन्दाले राष्ट्रिय अर्थतन्त्रलाई कहिल्यै पनि प्रवद्र्धन गरेनन्, गर्ने पनि छैन । जनस्वास्थ्यमा गम्भीर असर पार्ने र जनतालाई बिलासिता थोपर्ने काम मात्र गरेका छन् ।

त्यसैगरी वैदेशिक लगानीसहित सञ्चालन भएका बैंकिङ क्षेत्रमा पञ्जाव नेशनल बैंकसँगको संयुक्त लगानीमा एभरेष्ट बैंक र एसबीआई बैंकको संयुक्त लगानीमा नेपाल एसबीआई बैंक विशेष उल्लेखनीय छन् । त्यतिमात्र होइन, यी कम्पनीहरु पुँजी बजारको भाषामा ब्लूचिप कम्पनी नै रहन सफल छन् । यस्ता कम्पनीले नाफा कमाउँदा आफ्नो मातृ देश अर्थात् जुन देशबाट लगानी आएको हो त्यही देशलाई नै फाइदा दिँदै आएका छन् । नेपालमा त मात्र व्यापार गर्ने थलो भएको छ । उल्लेखित भारतीय लगानीका कम्पनीले मात्र होइन, जनताको जीवन तात्विकरुपमा परिवर्तन ल्याउन सक्ने गरी कुनै पनि वैदेशिक लगानी आएको छैन । अन्य देशको तुलनामा नेपालमा भारतको लगानीलाई नै सहुलियत दिने गरिएको छ । तर, भारतका लगानीले देशका जनताको आधारभूत परिवर्तनमा कुनै भूमिका नै खेलेका छैन ।

भारतले नेपाललाई जति आर्थिक रुपमा विकास निर्माणका लागि वा शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा जति सहयोग गर्दछ, त्योभन्दा कैयौं गुना बढी आम्दानी भारतले नेपालबाट प्राप्त गर्दछ । नेपाल र भारतबीचको साँस्कृतिक तथा सामाजिक सम्बन्ध र भौगोलिक निकटता तथा अल्पविकसित राष्ट्रले निकासी तेस्रो मुलुकमा निकासी गर्दा पाउने सुविधाका कारण पनि भारतीय लगानीकर्ताहरु नेपालमा लगानी गर्न चाहन्छन् । उनीहरुले नेपालबाट नाफा कमाएर लैजाने गरेका छन् । ती कम्पनीले राष्ट्रिय अर्थतन्त्रलाई भरथेग गर्नेभन्दा पनि देशभित्रका स्वदेशी कम्पनीलाई मारमा पार्ने र बढी फाइदा लिने गरेका छन् । अहिलेको महामारीका विषम परिस्थितिमा व्यापार, व्यावसायलाई जोगाउनका लागि नाफामा गएका संस्थान तथा कम्पनीबाट रकम खिच्ने तयारी गर्दै गर्दा नेपाली जनताबाट नाफा आर्जन गरेका कम्पनीहरुले निर्वाध रुपमा व्यापार प्रवद्र्धन गरेका छन् । नेपाल र यहाँका जनताप्रति कुनै जिम्मेवारी बहन गर्नुपरेको छैन । कहाँ छन् नेपालमा खर्बौ नाफा गर्ने बहुर्राष्ट्रिय कम्पनीहरु ? यो महामारीमा बहुर्राष्ट्रिय डाबर, युनिलिभर, सूर्य नेपाल, एशियन पेन्ट्स, एन सेललगायतका कम्पनीको जिम्मेवारी के ? राज्यले सोध्नुपर्छ ।

यस्तो किन भयो ? सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका कारण भारतीय उद्योगधन्दालाई नै प्रवद्र्धन हुने गरेको जानकारहरुको तर्क छ तर पनि त्यस्ता असमान व्यवस्थालाई राज्यले कडा तवरले प्रतिवाद गर्न सकेको छैन । त्यस सन्धिको धारा ६ मा नेपाल र भारत दुवै सरकारले एकअर्काका जनतालाई औद्योगिक, आर्थिक विकास र त्यस्तो विकाससम्बन्धी छुट र ठेक्कामा भाग लिन राष्ट्रिय व्यवहार गर्नुपर्ने उल्लेख छ । तर, यस्तो व्यवस्थाको भरपूर उपभोग गरेर भारतीयले अर्बौ रकम भारत लगेका छन् भने भारतमा रहेका नेपालीले महामारीको बेलामा बस्ने बाससमेत नपाउने अवस्था आई रातारात आफ्नो देश फर्कनुपर्ने बाध्यता सिर्जना भएको छ ।

भारतका लागि पनि नेपाल ठूलो बजार हो । भारतको उच्च व्यापार नाफा (ट्रेड सरप्लस) भएका मुलुकमध्ये नेपाल तेस्रो स्थानमा पर्छ । यस्तो अवस्थामा भारतीयहरुले नेपाली जनताबाट आर्जन गरेका नाफामा सङ्कटका बेलामा पनि प्रयोग गर्ने अवस्था छैन । त्यसको अलवा नेपालभित्र उत्पादन भएका मात्र नभई सन् १९९६ को नेपाल–भारत पारवहन र वाणिज्य सन्धि यता नेपाली बजारमा भारतीय वस्तुको प्रभुत्व निरन्तर बढेको छ । त्यो पनि नेपाली जनताको स्वास्थ्य तथा खाद्यान्नभन्दा पनि विलासिता र सेवाका नाममा खुलेका नाफा आर्जन गर्ने क्षेत्रमा मात्र केन्द्रित भएको छ । यस्तो खालको बजारमुखी खुल्ला अर्थतन्त्र नेपालमा मात्र फस्टाएको छ । पछिल्लो विश्व परिवेशमा अमेरिका, भारतलगायत अन्य प्रजातान्त्रिक भनाउँदा मुलुकले पनि आफ्नै उत्पादनलाई विशेष प्राथमिकता दिएर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने नीति लिएको अवस्थामा नेपालले त्यतातर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : अर्थ, बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस