काठमाडौं, ३२ साउन । साताको पहिलो दिन आइतबार नेप्सै सूचक १७.३३ अंकले घटेको छ ।
सुचिकृत कम्पनीहरुको गत आर्थिक बर्ष २०७६/०७७ को वित्तिय विवरण प्रकाशित हुँदा अधिकांश कम्पनीहरुमा लकडाउनको प्रभावका कारण खूद नाफा घटेका कारण त्यस्को प्रत्यक्ष प्रभाव शेयरबजारमा परेको हो।
विशेषतः बैंकहरुले ठूलो रकम प्रोभिजन गर्नुपर्दा खुद नाफा कम हुन गएको वित्तिय विवरण प्रकाशित गरेका छन् भने इपिएस ह्वात्तै घटेका छन् ।

आइतबार नेप्से भारी अंकले गिरावट आएपनि कारोबार रकममा भने सुधार देखिएको छ। यस दिन १८५ कम्पनीको २१ हजार ६०९ पटकको कारोबारमा १ अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरको ४३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन साधना लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, यस दिन सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ८.२५ प्रतिशत बढेको छ।
त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.४१ प्रतिशत घटेको छ। त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको मूल्य ६.०५ प्रतिशत र सर्वसाधारण शेयरको मूल्य ५.६६ प्रतिशत घटेको छ।
यस दिन कारोबारमा आएको व्यापार उपसमूह बाहेक अन्य सबै समूहको सूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक यस दिन १.३२ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल बैंकको ८ करोड १४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएर अगाडी छ। त्यसैगरी यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएका छन्।
क्याटेगोरी :
अर्थ
ट्याग : #hot