Techie IT
×
गृहपृष्ठअर्थकृषि विकास बैंकको खुद नाफा घट्यो

कृषि विकास बैंकको खुद नाफा घट्यो


काठमाडौं, ३२ साउन । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि घटेको देखिएको छ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७२ करोड ३५ लाख रुपैयाँ अर्थात १७।२६ प्रतिशत कम हो। अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा भने सो अवधिसम्ममा १ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानीमा ह्रास आएसँगै खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ घटेको छ। अघिल्लो आवमा ७ अर्ब ६१ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले गत आवमा ६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको हो। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ८८ करोड १७ लाख रुपैयाँ घटेर ४ अर्ब ४५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो आवमा ४० रुपैयाँ ४५ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आवमा ३२ रुपैयाँ ८८ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात ११।७१ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ ५४ पैसा कायम भएको छ।

१४ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र शेयरधनी कोषमा २ अर्ब १० करोड ४ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवमा बैंकको जगेडा कोाष्मा १० अर्ब ४८ करोड र शेयरधनी कोषमा ३ अर्ब ४२ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकले निक्षेप १ खर्ब १८ अर्ब ८८ करोडबाट बढाएर १ खर्ब १४ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी १ खर्ब ८ अर्ब ८० करोडबाट बढाएर १ खर्ब २३ अर्ब ५ करोड पुर्याएको छ। बैंकको निष्क्रिय कर्जा ३।२९ प्रतिशतबाट २।७१ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको आधार दर १०।५८ प्रतिशतबाट ९।२६ प्रतिशत र स्प्रेड दर ४।६८ प्रतिशतबाट ४।४४ प्रतिशतमा झरेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस