Techie IT
×
गृहपृष्ठअर्थबन्द गर ऋण थोपर्ने धरापहरु

बन्द गर ऋण थोपर्ने धरापहरु


सरकारको अदूरदृष्टिका कारण कार्यान्वयनका तल्लो तहमा पुगेको बजेट खर्च हुन नसकेर फिर्ता भएका छन् । यो क्रम केन्द्रीयदेखि स्थानीय सरकारका योजना र कार्यक्रमसम्म देखिन्छ । आर्थिक सामाजिक रुपमा कायापलट गर्ने विश्वास गरिएका आयोजनाका अवस्था झनै दयनीय छन् । जसका कारण देशले आर्थिक फड्को मार्नेभन्दा पनि ऋणको भूमरीमा पर्दै गएको छ । नेपाली जनताको थाप्लोमा ऋणमाथि ऋण थपिँदै गएको छ ।

पछिल्लो आँकडाअनुसार प्रधानमन्त्री कार्यालयबाट अनुगमन हुने राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक अवस्थामा पुगेको छ । स्पष्ट नीति, विधि र कार्यक्रमविना नै कार्यान्वयन गर्न खोजिएपछि बजेट फिर्ता आउने र नतिजा निराशाजक देखिने गरेको तथ्यले प्रष्ट पार्दै आएका छन् । महालेखा परीक्षकको ५७ औं प्रतिवेदनअनुसार बबई सिँचाइ आयोजना सुरुवाती लागत अनुमान रु दुई अर्ब ८७ करोड थियो । विसं २०४६ मा सुरु भएको यो आयोजना आर्थिक वर्ष २०७१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । अझै आयोजना सम्पन्न भएको छैन । वर्तमान अवस्थामा रु आठ अर्ब १४ करोड लगानी भइसको छ । यो आयोजना सम्पन्न हुँदसम्म रु १८ अर्ब ९६ करोड पुग्ने संशोधित लागत अनुमान गरिएको छ । यो लागत अनुमानको सुरुवातको तुलनामा नौ गुणाले बढी हो । त्यस्तै हालत छ, मेलम्ची खानेपानी आयोजना, काठमाडौं तराई मधेश द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग, सिक्टा सिँचाइ, रानीजमारा कुलेरिया सिँचाइ र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पनि ।

उल्लेखित आयोजनाको सुरुवातमा अनुमान गरिएको निर्माण अवधि र अनुमान गरिएको लागत मूल्य दुबै दोब्बर भएको छ । यी आयोजनाको सुरुआति लागत रु दुई खर्ब ७८ अर्ब ९३ करोड अनुमान गरिएको थियो तर, पटकपटक लागत अनुमान संशोधन गर्दा हाल रु पाँच खर्ब १९ करोड ९४ लाख पुगेको छ । हालसम्म सुरुवातको लागत अनुमान खर्च भइसकेको छ । अझै कति वर्ष लम्बिने हो थाहा छैन र कति खर्च बढ्ने हो थाहा छैन । जति ढिलाई हुन्छ, त्यति नै खर्च बढ्ने छ । महालेखा परीक्षकको कार्यालयले समय र लागत वृद्धि हुन नदिने गरी आयोजना व्यवस्थापनलाई प्रभावकारी सुझाव दिँदै आएको छ तर सुधार कहिल्यै भएको छैन, सुझावको वेवास्ता गरिँदै आएको छ । यस कार्यमा सरकारको कहिल्यै चासो पनि देखाएको पाइएको छैन । यस्तो हालतमा देखिएको सरकारी रबैया अबका दिनमा झनै जकडिने देखिएको छ । विगतमा खासै बहाना नपाएको यो सरकारले विश्व महामारी आफ्ना असक्षमता लुकाउने उपाय हुने देखिएको छ । निर्माण सामग्री, काम गर्ने कामदार, विदेशबाट प्रविधि र प्राविधक ल्याउन सकिएन भन्नेजस्ता अनगिन्ती कारण देखाएर अझै कति वर्ष यस्ता आयोजना लम्ब्याइने हो थाहा छैन । कमिसनसँगै आयोजना सकाउने अवधि लम्ब्याउने महारोग निको हुने अवस्था अझै देखिएको छैन ।

यसरी ठूला आयोजनामा पैसा खन्याउने कार्यले निरन्तरता पाउने र नतिजा नआउने कारण गर्दा देश र जनता गरिबीको भूमरीमा जेलिँदै जाने देखिएको छ । माथि उल्लेखित आयोजना मात्र होइन, अन्य कयौँ आयोजना तथा निर्माण कार्यले त्यस्तै नियति भोग्नु परेकाले आर्थिकरुपमा हामीलाई झनै उँधो गतिमा धकलिरहे छ । ऋण काडेर आयोजनामा लगाउने गरिएको छ तर आयोजनाले सफलता प्राप्त गर्ने र आर्थिक उत्पादन दिन सक्ने अवस्था देखिएको छैन । यो कार्य निरन्तर अगाडि बढेका कारण सरकारको ऋण दायित्व बढ्दै गएको छ । यही क्रम लम्बिँदै गर्दा सरकारको ऋण दायित्व पछिल्लो समय रु १३ खर्ब पुगेको छ । सरकारको असार मसान्तसम्ममा आन्तरिक ऋण रु छ खर्ब ६७ अर्ब र बाह्य ऋण रु छ खर्ब १४ अर्ब पुगेको देखिएको छ । सरकारले गत आर्थिक वर्षसम्म प्राप्त ऋण तथा भुक्तान गरेको साँवासमेत हिसाब गर्दा तिर्न बाँकी कुल ऋण रु १२ खर्ब ८१ अर्ब पुगेको छ  । यो भयावह अवस्था हो । तथ्याङ्क विभागका अनुसार अहिले नेपालको जनसंख्या तीन करोड ३८ हजार छ  । कुल ऋणलाई जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा रु ४२ हजार छ सय सरकारी ऋण पुगेको छ ।

देशको आर्थिक तथा सामाजिक अवस्थालाई परिवर्तन गर्ने भनेर परिभाषित गरिएका यस्ता आयोजना देश र जनताको अपेक्षा विपरीत ऋणको भारी बोकाउने खाडल बन्दै गएको छ । निरन्तर रुपमा त्यस्ता आयोजनामा काम गर्ने ठेकेदार तथा प्राविधिकका लागि त्यस्ता आयोजनाहरु दुहुनो गाई भएका छन् । कहिल्यै पनि नथाक्ने दुहुनो गाईको रुपमा परियोजना अड्काएर देशलाई लुट्ने काम कहिलेसम्म ? यो प्रश्नको उत्तर दिन सरकार तयार छैन । त्यसैगरी त्यस्ता आयोजनाका ऋण लगानी गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाका लागि लगानी गरेर कमाउने धन्दाका रुपमा गेमचेन्जर भनेर उल्लेख गरिएका आयोजना पर्ने गरेको देखिएको छ । त्यसैले गर्दा यस्ता ऋणका धराप अन्त्य गर्न सकिएन भने देश नै फेल हुने अवस्था आउन सक्छ । त्यसैले स्रोत र साधनको दोहन गरेर जनतामाथि ऋण थोपर्ने गलत अभ्यास अन्त्य नहुँदासम्म विकास र समृद्धिका फजुल गफ गर्नु बेकार हुन्छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : अर्थ, बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस