Techie IT
×
गृहपृष्ठअर्थछुट प्याकेजसहित सौराहामा आजबाट होटल खुल्यो

छुट प्याकेजसहित सौराहामा आजबाट होटल खुल्यो


भरतपुर । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित बिहीबारट सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुटका प्याकेज घोषणा सहित करिब ४ महिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल संघ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको छ ।

व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् । होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने संघले जनाएको छ ।

यस्तै, पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्नेछ । पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

सरकारले गत चैत ११ गतेदेखि लक डाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द रहेका थिए । सरकारको निर्णय अनुरुप नै होटल सञ्चालनमा ल्याइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । उनले भने, “सुरक्षा सतर्कता अपनाएर होटल सञ्चालन गरेका छौं, सबै व्यवसायीले सोहीअनुरुप तयारी गरिरहेका छन् ।” उहाँले आजदेखि सौराहा खुल्यो भन्ने सन्देश प्रवाह गरिएको बताउनुभयो ।

होटल सञ्चालनमा आउने भएपछि यहाँका व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन् । संघले औपचारिक रुपमै छुटबारे निर्णय गर्ने तयारी गरे पनि व्यवसायी स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेका हुन् । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा (लजिङ) मा ५० प्रतिशत छुटको घोषणा गरेका छन् । यस्तै खानामा २० प्रतिशत र पेय पदार्थमा १५ प्रतिशत छुट दिइने उनले बताए ।

होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन हुने छन् । विशेष गरी जंगल सफारी, डुंगा सफारीका लागि प्रख्यात मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै जंगल वाक हुने गर्दछ । यस्तै, बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस