Techie IT
×
गृहपृष्ठअर्थठमेलका व्यवसायी र घरधनीबीच ५० प्रतिशत भाडा छुट दिने समझदारी

ठमेलका व्यवसायी र घरधनीबीच ५० प्रतिशत भाडा छुट दिने समझदारी


काठमाण्डौ, १९ असार । पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच ६ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ ।

पर्यटन क्षेत्रका २२ संस्थाले ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको जनाएका हुन् ।

कोभिड–१९ महामारीको कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुँदा त्यस क्षेत्रमा दुई सय ७० कोठा तथा सटर खाली भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषद्दवारा गठित कोभिड १९ पर्यटन व्यवसायी विपद् समन्वय समितिको पहलमा ठमेल क्षेत्रका तीन सय ५० व्यवसायी र घरधनीबीच भाडा छुटको समझदारी भएको समितिका संयोजक भवी शर्माले जानकारी दिए । उनले ठमेल क्षेत्रको व्यवसाय, व्यवसायी तथा घरधनीलाई जोगाउन सञ्चारलगायत सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको बताए ।

लकडाउनको कारण तीन महिनाभन्दा बढी समयदेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका छन् ।

ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीहरुले लकडाउन सुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्षसम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युतको युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ठमेल क्षेत्रमा दुई सयभन्दा बढी घरधनी र १० हजार व्यवसायी रहेको जानकारी दिइएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस