Techie IT
×
गृहपृष्ठअर्थसिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको बजेट रु. ३३ करोड ९४ लाख

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको बजेट रु. ३३ करोड ९४ लाख


सिरहा, ११ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु. ३३ करोड ९४ लाख ६० हजार ९७० रुपैयाँको बजेट पारित गरेको छ ।

हिजो सम्पन्न सातौ गाउँसभाले आर्थिक बर्ष २०७७÷०७८ मा संघीय सरकार समानिकरण रु. ८ करोड ३२ लाख, सशर्त अनुदान रु. १३ करोड ३५ लाख, राजस्व बाँडफाँड रु. ५ करोड ४६ लाख ७५ हजार ९७०, समपुरक अनुदान रु. १ करोड १० लाख, प्रदेश सरकार समानिकरण अनुदान रु. ६९ लाख ५० हजार, प्रदेश सरकार सशर्त, बिशेष र समपुरक अनुदान रु. १ करोड, प्रदेश सरकार सबारी साधन कर बाँडफाँड रु. २१ लाख ३५ हजार र आन्तरिक स्रोतको अनुमानित रु. ५५ लाख, चालु आ.ब को नगद मौज्दात रु. २ करोड २५ लाख, तराई मधेश सम्बृद्धि कार्यक्रम रु. ४० लाख र अन्य अनुमानित रु. ६० लाख गरी रु. ३३ करोड ९४ लाख ६० हजार ९७० रुपैयाँको बजेट पारित गरेको हो ।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले प्रस्तुत गर्नुभएको अगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु. ३३ करोड ९४ लाख ६० हजार ९७० रुपैयाँको बजेट आवश्यक छलफल पश्चात पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झाले जानकारी दिए ।

आगामी आर्थिक बर्ष २०७७÷०७८ मा विश्वब्यापी कोरोना महामारीका कारण स्वदेश फर्किएका युवाहरुलाई स्वरोजगारीको सुनिश्चितता गर्ने, कृषि उत्पादनमा बृद्धि ल्याउन सिंचाईको लागि गाउँपालिकाभित्र भएका सम्भावनाहरुको पहिचान गरी पोखरी सिंचाई आयोजना सञ्चालन गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच बढाउन पालिका अस्पताल स्थापना गरी दीर्घ रोग तथा अन्य रोगहरुको निदान, ल्याब सेवा, एक्सरे लगायतका सेवा सञ्चालन गर्ने, पालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा सुत्केरी भान्सा घर निर्माण गर्ने, घर घरमा करेशाबारी निर्माणसँगै हरेक घर दश फलफुल विरुवा रोपण कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना सहितको नीति तथा कार्यक्रम समेत गाउँसभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत झाले बताए ।


क्याटेगोरी : अर्थ, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस