Techie IT
×
गृहपृष्ठअर्थप्रदेश ५ का पत्रकारको कोरोना बीमा

प्रदेश ५ का पत्रकारको कोरोना बीमा


प्रदेश नं ५ का ८३० जना पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ को समन्वय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेशका १२ वटै जिल्लाका क्रियाशील पत्रकारहरुको बीमा गरिएको हो ।

आज एक कार्यक्रमका बीच आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बीमासम्बन्धी सम्झौतामा नेपाल पत्रकार महासङ्घ प्रदेशका उपाध्यक्ष भरत केसी र शिखर इन्सुरेन्स कम्पनी बुटवलका प्रबन्धक किरण काफ्लेले हस्ताक्षर गरे।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री केसीले सरकार र समुदायको आवाज उठाउने मिडियाको सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए । उनले सरकार र समुदायवीचको समन्वकारी भूमिका सञ्चारमाध्यमले निर्वाह गर्ने भएकाले पत्रकारहरुको संरक्षण र सुरक्षाका लागि प्रदेश सरकार सम्बेदनशील रहेको बताए । कोरोना भाइरसको महामारीका कारण सञ्चार संस्थामा पारेको प्रभावबारे सरोकारवालाबीच छलफल गर्ने बताउँदै मन्त्री केसीले सङ्कटका बेला सरकार साथमा छ भन्ने अनुभूति सबैलाई गराउने धारणा राखे ।

मन्त्रालयका सचिव रविलाल पन्थले विपद्को समयमा समेत समाचार सङ्कलनमा खट्ने पत्रकारलाई बीमाले राहत प्रदान गर्ने विश्वास व्यक्त गरे । महामारीका बेला पत्रकारले अग्रभागमा रहेर काम गर्ने र सङ्क्रमणको जोखिम हुनसक्ने अवस्थालाई ध्यानमा राखी कोरोना बीमा गरिएको पत्रकार महासङ्घ प्रदेशका उपाध्यक्ष केसीले बताए । बीमा गरिएको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना सङ्क्रमण देखिएमा बीमा कम्पनीले रु एक लाख दिने उनले जानकारी दिए ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस