Techie IT
  • २०८० फागुन ११, शुक्रबार

मोरङबाट राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना पसल सञ्चालक पक्राउ


विराटनगर, १७ मंसिर । मोरङबाट राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना पसल सञ्चालक पक्राउ परेका छन्।

धनपालथान गाउँपालिका–४ कर्सिया बजारका ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार शनिबार साँझतिर राजवंशीलाई पक्राउ गरिएको हो। कर्सिया बजारमा उनको केशव किराना पसल छ।

भोला गुट्खालगायतका सूर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले उनको किराना पसलबाट छापा हानेको थियो। प्रयोगका लागि तयारी अवस्थामा राखिएको अन्तःशुल्क स्टिकर फेला परेपछि राजवंशी पक्राउ परेका हुन्।

उनको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद भएको डीएसपी दाहालले बताए। उनका अनुसार राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउने तयारी भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भोला गुट्खाको ‘प्याकेट’मा प्रयोग भइसकेको स्टिकर निकालेर पुनः प्रयोगका लागि उनले पठाउने गरेको खुलेको छ। उक्त स्टिकर राजवंशीले कहाँ र कसलाई पठाउँथेभन्ने बारेमा खुल्न बाँकी छ। तर, यसअघि नै प्रयोग भइसकेको स्टिकर निकाल्दै गुट्खाको खोल र मदिराको बोतललगायतमा पुनः टाँसेर राजस्व छली गर्ने गरिएको प्रहरीको भनाइ छ।

गुट्खा, मदिरालगायतका वस्तु अन्तःशुल्क स्टिकर लगाएर मात्रै बजारमा पठाउन पाइन्छ। त्यसरी प्रयोग भइसकेको स्टिकर उप्काएर पुनः प्रयोगका लागि पठाउने गरेको पाइएको हो। राजवंशीले त्यस्ता स्टिकर स्थानीय व्यापारीसँग पनि संकलन गर्ने गरेको प्रहरीले जनाएको छ।

‘स्थानीय व्यापारीबाट संकलन गर्दै आफ्नो घरमा जम्मा पारेर विराटनगरतिर पठाउने गरेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यो विषयमा थप अनुसन्धान राजस्व कार्यालयबाटै हुन्छ।’ स्किटरको दुरुपयोग गरेर राजस्व छली गर्न ठूलै गिरोह संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ। राजस्वको अनुसन्धानपछि थप कुरा खुल्ने र अन्तःशुल्क स्टिकर दुरुपयोगमा संलग्न गिरोहका बारेमा पत्ता लाग्ने जनाइएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट