ई–सेवा मनी ट्रान्सफरले ल्यायाे काठमाण्डाैमा घर याेजना

काठमाडौं । ई–सेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत यस वर्ष पनि घर दिने योजना ल्याएको छ ।
ललितपुरको पुल्चोकमा भएको पत्रकार सम्मेलनमा ई–सेवाले ‘मेरो डिजिटल देश’ अभियानमार्फत फेरि पनि काठमाण्डौमा घर योजना सार्वजनिक गरेको हो । आज सोमवारदेखि शुरु भएको यो अभियान आउँदो वर्षको असार ३१ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।
परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ ई–सेवाले यो अभियान शुरु गरेको हो । यस अभियानअन्तर्गत संसारका कुनै पनि देशमा रहेका नेपालीले स्वदेशमा इच्छाएको व्यक्तिको ई–सेवा वालेटमा पैसा पठाएर सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा चार जना परिवारलाई विशेष कोसेली, हरेक महिना एक जनाको पैसा डबल, तथा बम्पर उपहारमा एक जनाले काठमाण्डौमा घर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
अभियानबारे बोल्दै एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले भने, ‘यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो । विदेशमा काम गर्ने प्रत्येक नेपालीको एउटा आकाङ्क्षा भनेको काठमाण्डौमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट हामीले कम्तीमा एउटा व्यक्तिको सपना पूरा गर्न सक्नेछौँ । साथै ई–सेवा मनी ट्रान्सफर र ई–सेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल बनाउन सहयोग पुग्नेछ ।’
अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी निर्देशक डेनियल डी श्रेष्ठले भने, ‘ई–सेवा मनी ट्रान्सफरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्त्वपूर्ण योगदान रहेको छ । यस योजनाअन्तर्गत विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु ।’
ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ई–इसेवा र ई–सेवा मनी ट्रान्सफरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए। उनले भने ‘यो अभियानमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ ।’
तपाईको प्रतिक्रिया दिनुहोस