एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २९ भदौ । एनआईसी एशिया बैंकले आफ्ना शेयर लगानीकर्ताहरूलाई ३०.५२ प्रतिशत लाभांश (कुल रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ) वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको यही भदौ २८ गते बसेको ६२९औँ बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार, बैठकले उक्त प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनस शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औँ वार्षिक साधारणसभाको स्वीकृतिपश्चात् वितरण गरिनेछ ।
एनआईसी एशिया बैंकले हाल ३६० शाखा कार्यालयहरू, ६०८ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जालमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस बैंकले कुल रू. २३ अर्ब ५८ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको छ भने गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस