Techie IT
×
गृहपृष्ठकृषिविदेशबाट फर्किएर सुशीलले भक्तपुरमा खोले कालिज फर्म

विदेशबाट फर्किएर सुशीलले भक्तपुरमा खोले कालिज फर्म


भक्तपुर, १७ भदौ । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटमा कालिज फर्म सञ्चालनमा आएको छ । तर्खगालमा‌ स्थानीय युवा सुशील न्यौपानेले फर्म सञ्चालनमा ल्याएका हुन्।

यो भन्दा अघि उनी उनी वैदेशिक रोजगारीका सिलसिलामा कतारमा थिए । त्यहाँ उनले कतार एयरवेजमा ६ वर्ष काम गरे। ५ महिना अघि मात्रै उनी नेपाल आएका हुन्। विदेशमा उनको कमाई राम्रै थियो। नेपाल आएपछि भने उनले नेपालमै केही गर्ने अठोटकासाथ एक महिना अघि ‘पञ्चकन्या कालिज फर्म’ दर्ता गरि व्यवसायिक रुपमा कालिज पालनतर्फ लागेका हुन् ।

यसका लागि उनले घर नजिकै जंगल छेउमा रहेको ४ रोपनी क्षेत्रफलमा फैलिएको आफ्नै बारीमा फर्म बनाई करिब ४ सय कालिज पालेका छन् । यो फर्ममा उनको २० लाखको हाराहारीमा लगानी रहेको छ । यसमा आफुलाई परिवारबाट पनि दरिलो साथ र सहयोग मिलेको उनी बताउँछन् ।

कालिज लगभग ५/६ महिनामा खान योग्य हुन्छ । एउटा वयस्क कालिजको तौल लगभग डेढदेखि दुई किलो हुन्छ भने एउटा कालिजको मूल्य नै ३ देखि ४ हजारको हाराहारीमा हुन्छ । यसको अण्डा मात्रै बजारमा प्रतिगोटा ७ सयदेखि साढे सातसय सम्ममा किनबेच हुने गरेको उनी बताउँछन् ।

कालिजको मासुमा बढिमा २० देखि २२५ मात्र फ्याट हुने भएकाले यसको मासुले दम, यूरिक एसिड, सुगरका रोगी, गर्भवती महिला लगायत सबैलाई फाईदा हुने गर्छ । चिसो मौसममा वृद्ध, वृद्धालाई कालिजको झोल हालेको मासुले धेरै नै फाईदा गर्दछ। अझ यूरोपतिर यसलाई यौनवर्द्धक औषधिका रुपमा पनि प्रयोग गरेको पाईन्छ ।

कालिजको मासुले शरीरलाई धेरै फाईदा गर्ने नेपालमा पनि यसको माग बढ्दो रहेकाले आफुले सञ्चालन गरेको कालिज फर्मले पनि राम्रै प्रतिफल दिने कुरामा फर्म सञ्चालक सुशील न्यौपाने विश्वस्त छन् ।


क्याटेगोरी : कृषि, प्रदेश, बाग्मती प्रदेश


प्रतिक्रिया दिनुहोस