काठमाडौँ, ३१ जेठ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच किसानहरु सुरक्षित तरिकाले राजधानीको उत्तरपूर्वी भेगमा रोपाइँलगायत कृषि कर्ममा खट्न थालेका छन् । बन्दाबन्दी शुरु भएको ८० दिन बितिसक्दा पनि सङ्क्रमण बढ्दै जान थालेपछि किसान सुरक्षित तरिकाले खेतीमा लाग्न थालेका हुन् ।
गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा खेतीका लागि अझै खुला फाँट छ । फाँट प्रत्येक वर्ष घट्दै जाँदै छ । विगत वर्षमा कित्ताकाट भएका टुक्रा जग्गामा खेती नभई बाँझै रहने गरेकामा यस वर्ष भने खनजोत गरी केही न केही रोपिएको देखिन्छ ।
खेत रोप्न गरा बनाउँदै गरेका गोकर्णेश्वर, उत्तरबाहिनीका मङ्गलबहादुर तामाङ अन्यत्र हिँड्डुल गर्न नपाइए पनि कृषि कर्म गर्न समस्या नभएको बताउछन् । साढे दुई महिनादेखि बन्दाबन्दी जारी रहँदा रोगभन्दा पहिले भोकले मरिने अवस्था आएकाले भएको जग्गामा केही न केही रोपिएको उनले बताए ।
घर बनाउन खण्डीकरण गरिएका जग्गामा पनि चपरी फाँडेर अनाज रोपिएको छ । कागेश्वरी मनोहरा–१ गागलफेदीका रामप्रसाद ढकाल वर्षौंदेखि बाँझो जग्गामा यस वर्ष बन्दाबन्दीका कारण फुर्सदले घर बसेका मानिसले खनजोत गरी खेती गरेको बताउछन्। हाल यस क्षेत्रमा सिम र पानीको कुलो लाग्ने स्थानमा रोपाइँ शुरु भइसकेको छ । कति ठाउँमा मानिस धानको बीउ राख्दै छन् । कति स्थानमा भने मानिस मकै गोड्नेलगायत खेतीमा सक्रिय छन् । यहाँका स्थानीय सरकारले पनि सुरक्षित तवरले खेती गर्न सहयोग गरिरहेका छन् ।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना सुरक्षित तरिकाले खेतीपाती गर्न सहयोग गरिएको बताउछन् । कृषक भने स्थानीय सरकारले मुखले सहयोग गर्ने भने पनि बजारमा मल पाउन नसकिएको गुनासो गर्छन् ।
कृषिसम्बन्धी सल्लाह लिन जाँदा नगरपालिकाका कृषि शाखाका कर्मचारी पनि नभेटिने गरेको कागेश्वरी मनोहरा–५ का किसान रामप्रसाद सिंखडाले गुनासो गरे। मललगायत कृषि कर्मका लागि आवश्यक पर्ने सामग्रीको बजारभाउ बन्दाबन्दीकै बीच बढेको पनि उनले सुनाए । कृषि सामग्रीमा भइरहेको कृत्रिम अभाव, कालाबजारी एवं मूल्यवृद्धिविरुद्ध यस क्षेत्रका नगरपालिकाका अनुगमन समितिको ध्यान जान नसकेको किसानको भनाइ छ ।
क्याटेगोरी :
कृषि,
बाग्मती प्रदेश