Techie IT
×
गृहपृष्ठकृषिमल नपाएपछि चितवनका किसान चिन्तित्

मल नपाएपछि चितवनका किसान चिन्तित्


चितवन, १७ साउन । धान रोपाइँ गरेको एक महिना बितिसक्दा पनि चितवनका कृषकले रोपाइँको समयमा प्रयोग गर्नुपर्ने मल अझै पाएका छैनन् ।

रोपाइँका बेला मल माग गरेको, धान गोड्ने बेला हुँदासम्म मल नपाएको गुनासो किसानको छ । विशेष गरी युरियाको अभावका कारण धानको राम्रो उत्पादन लिन नसकिने हो कि भन्नेमा किसान चिन्तित छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन सञ्चालक समितिका संयोजक तेजप्रसाद बर्तौलाले एक महिनाभन्दा बढी अवधि हुँदासमेत कृषकले मल नपाएको दुःखेसो पोखे । कृषि प्राविधिकले केही दिनमा आउँछ भन्दाभन्दै अझै पनि मल नआएको उनको भनाइ थियो । पछिल्लो समय आएर युरियाको ठाउँमा डीएपी र पोटासको प्रयोग गर्न सुझाएको तर त्यो युरियाभन्दा महँगो पर्ने भएकाले कृषक मर्कामा परेको उनको गुनासो छ ।

समयमा मल पाएको भए यतिबेला धान हलक्कै हुने र अन्य झार पनि कम हुने कृषक बताउँछन् । सरकार कृषिलाई प्रोत्साहन र अनुदान दिने नीति लिन्छ तर व्यवहारमा त्यस्तो नभएको गुनासो कृषकको छ । भरतपुर–६ का कृषक मार्कण्ड खनालले अनुदानको युरिया समयमा भित्र्याउन नसक्ने अवस्थाले कृषक चिन्तित भएको बताउँदै भदौको दोस्रो साताभन्दा अगाडि मल आउने सम्भावना कम भएको भन्ने आफूले सुनेको बताए ।

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीले भारतको गुजरातमा अड्किएको मल अझै नेपाल भित्रिन नसकेको आफूलाई जानकारी आएको बताए । उनले कृषकलाई चिनी मलको प्रयोग गर्न सुझाव दिएको बताए । युरियामा प्राप्त हुने अधिकांश मिनरल प्राप्त हुने उक्त मलमा सरकारी अनुदान नभएकाले कृषकले उक्त मल प्रयोग गर्न आनाकानी गरेको उनका बुझाइ छ । सरकारले डीएपी, पोटास र युरियामा बजार मूल्यको दाँजोमा ५० देखि ६० प्रतिशतसम्मअनुदान दिँदै आएको छ ।


क्याटेगोरी : कृषि, प्रदेश, बाग्मती प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस