Techie IT
  • २०८१ जेष्ठ ८, मंगलबार

पानी नपर्दा कञ्चानपुरका उखुखेती सुक्न थाले


कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिका –३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेत खलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखुखेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न थालेकाले सिँचाइ गर्दै उनको दिन बित्छ । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै भयो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, बडायक भन्छन्, “खेती जोगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरे पनि यस वर्ष अत्यधिकमात्रामा उखु सुक्दै गएको उनको भनाइ छ । “यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, बडायक भन्छन्, “बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।” बेलौरी नगरपालिका –१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित छन् । दुई बिघा जग्गामा उनले उखुखेती गरेका छन् । करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको भटृको गुनासो छ । “आकाशे पानीको भर पर्दा खेतको उखु सुकेको छ, नहरबाट सिँचाइ हुने जमिनमा सिँचाइ गरिरहेका छौँ”, किसान भट्ट भन्छन्, “पानी परे खेती जोगाउन सकिन्थ्यो ।” उखु बेचेर घरखर्चको जोहो गर्ने उहाँ यसपटक लगानी पनि निकाल्न पनि गाह्रो हुने बताउँछन् । आम्दानीको स्रोतका रूपमा रहेको उखु खेतमै सुक्न थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् । केही दिनयता अत्यधिक गर्मी बढ्नाका साथै सिँचाइका लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरि जोशी बताउँछन् । “यहाँ धेरै ठाउँमा आकाशको पानीका भरमा खेती हुन्छ”, उनी भन्छन्, “पानी नपरेकाले र पछिल्लो समय तापक्रम पनि बढेकाले खेती सुकिरहेको छ ।” जिल्लाको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधारा चाँदनीमा बढी उखुखेती हुने गरेको छ । जिल्लाभर आठ सयदेखि एक हजार हेक्टर जमिनमा उखुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कञ्चनपुरमा उखुको उत्पादन प्रति हेक्टर ५५ देखि ६० टनका दरले हुने गरेको छ । यहाँका किसानका लागि उखु बेच्न बेलौरी र पुनर्वासमा मिल छ । “गहिरो जमिनको खेती त्यति धेरै सुकेको छैन, बालुवा तथा सुख्खा जमिनको खेती सुकेको छ”, सूचना अधिकारी जोशी भन्छन्, “किसानलाई बाली जोगाउन नियमित सिँचाइ गर्न आग्रह गरेका छौँ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट