Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशसुर्खेतका किसानलाई कृषि औजार वितरण

सुर्खेतका किसानलाई कृषि औजार वितरण


दीपेन्द्र शर्मा

सुर्खेतमा ब्यावसायिक किसानलाई कृषि उपकरण तथा औजार वितरण गरिएको छ ।

सुर्खेतको लेकवेशी नगरपालिका चार दशरथपुरमा ब्यावसायिक कृषकहरुलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले लेकवेशी दशरथपरका कृषकहरुलाई ब्यावसायिक खेती गर्नका लागि मिनिटेलर प्रदान गरिन । सांसदको प्रत्यक्ष निगरानी तथा सिफारिसमा लागू हुने कार्यक्रम भएकोले मन्त्री नेपालीले आफनो क्षेत्रको कार्यक्रम यहाँ संचालन गर्न सिफारिस गरेकी हुन । कृषकलाई सामाग्री हस्तास्तरण गर्दै मन्त्री नेपालीले विपन्न समुदायको जीवनस्तर वदल्नका लागि सरकारले दलित तथा अति विपन्न समुदायका परिवारका लागि लक्षित वर्ग विशेष कार्यक्रम संचालन गरेको जानकारी दिइन ।

कृषिलाई ब्यावसायिक र आधुनिकीकरण गर्न प्रदेश सरकार लागेको बताउँदै मन्त्री नेपालीले अनुदानलाई सदुपयोग गर्न आग्रह गरिन । सरकारी अनुदान लिएर काम नगर्ने तथा अनुदानलाई दुरुपयोग गर्ने गरेको पाइएमा कारबाही पनि गरिने पनि नेपालीले बताइन । सरकारको अनुदानलाई सदुपयोग गरेर आफनो लगानी वढाइ आत्मनिर्भर बन्न कृषकहरुलाई आग्रह गरिन ।

कर्णाली प्रदेश सरकारको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०७७/०७८ को वार्षिक विकास कार्यक्रम अनुसार कर्णाली प्रदेश सभाका सदस्यहरुको प्रत्यक्ष निगरानी हुने गरी दलित अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रम अन्तर्गत कृषि औजार वितरण गरिएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रवहादुर रोकायाले बताए । रोकायाका अनुसार प्रदेश सरकारको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानी हुने कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रमबाट दशरथपुरमा ७ हर्स पावरको १३ वटा मिनी टेलर, एउटा रोटाभेटर तथा रु ५० हजार वरावरको तरकारीको विउ वितरण गरिएको प्रमुख रोकायाले जानकारी दिए ।

समुदायमा वसोवास गर्ने दलित तथा अति विपन्न परिवारलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको हो । दलित तथा अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रम अन्तर्गत सम्बन्धित प्रदेश सांसदको सिफारिसमा सिचाई संरचना निर्माण, तरकारी खेतीका लागि प्लाष्टिक टनेल निर्माण, जमिन जोत्नका प्रयोग हुने मिनिटेलर तथा तरकारी खेती गर्नका लागि बजेटलाई कार्यान्वयन गरिएको कृषि विकास निर्देशनालयले जनाएको छ । कार्यालयका अनुसार दलित तथा अति विपन्न समुदायका घरपरिवारका लागि कृषितर्फ सुर्खेतबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० जना प्रदेश सांसदको रु १० लाखका दरले रु एक करोड रकम कृषिमा खर्च गर्ने गरी विनियोजन भई आएको कृषि विकास निर्देशनालयका कार्यक्रम फोकल कृषि अधिकृत यामवहादुर रानाले जानकारी दिए ।

कार्यक्रम संचालन कार्यविधिको उद्देश्य अनुसार सांसदको सिफारिसमा सिचाई संरचना निर्माण तीन वटा, तरकारी खेतीका लागि प्लाष्टिक टनेल निर्माण पाँच वटा, जमिन जोत्नका प्रयोग हुने मिनिटेलरका एक वटा तथा तरकारी खेतीका लागि एउटा कार्यक्रम संचालन गरिएको अधिकृत रानाले बताए ।

फोकल पर्सन रानाका अनुसार भेरीगंगा नगरपालिका वडा नं. ५, लेखवेशी नगरपालिका वडा नं. ४, वीरेन्द्रनगर नगरपालिका वडा न. २, ४ र १३, वराहताल गाउपालिका वडा नं. ६, ७ र १०, सिम्ता गाउँपालिका वडा नं. ७ र गुर्भाकोट नगरपालिकाको वडा नं. ५ छनौट भइ कार्यक्रम कार्यान्वयन भइरहेका छन । प्रदेश सभाका प्रति सांसदका लागि कृषि मन्त्रालयले कृषि मा रु १० लाख र पशुसेवातर्फ रु १० लाख विनियोजन गरेको थियो ।


क्याटेगोरी : कृषि, कर्णाली प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस