Techie IT
×
गृहपृष्ठकृषिरोपाइँ सुरु, मलको हाहाकार

रोपाइँ सुरु, मलको हाहाकार


काठमाडौँ, ७ असार । भारतमा युरिया र डीएपी रासायनिक मल रोकिएका कारण नेपालमा मलको हाहाकार देखिएको छ । मनसुन सुरु भएसँगै धान रोपाइँ सुरु भएको छ । धान रोपाइँसँगै मलको माग अत्यधिक बढेको छ तर भारतबाट सम्पूर्ण मल आइनसकेका कारण मलको अभाव देखिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले कोरोना–१९ ९कोरोना भाइरस०को रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण मल आयातमा समस्या भइरहेको बताए । कोलकाता बन्दरगाहबाट ढिलो हुन्छ भनेर गुजरात हुँदै ल्याउन खोजेकामा त्यहाँबाट पनि आउन ढिलाइ भइरहेको उनले बताए ।

कोलकाता बन्दरगाहमा रहेको ५० हजार मेट्रिक टन मलमध्ये ३० हजार मेट्रिक टन डीएपी मल यसअघि नै आइसकेको जनाइएको छ । त्यसमध्ये केही वितरण पनि भइसकेको छ । बाँकीमध्ये पाँच हजार मेट्रिक टन यही हप्ताभित्र आइपुग्ने उनले बताए । उनले भने “कोलकातामा रहेको सम्पूर्ण मल असार १५ गतेभित्र आइपुग्नेछ । ”

अहिले रोपाइँको समयमा चाहिने डीएपी मल नै हो तर त्यसको खासै अभाव छैन तर युरिया मल सस्तो भएको हुनाले त्यसको माग बढेको छ तर गुजरातमा २१ हजार मेट्रिक टन मल थन्किएपछि यहाँ अलिअलि अभाव देखिएको उनले बताए ।

गुजरातबाट मल ल्याउने पहल भइरहेको छ, परराष्ट्र मन्त्रालय र भारतमा रहेको नेपाली राजदूतावासमार्फत कुराकानी अगाडि बढेको तैपनि ढिला भइरहेको उनले बताए। अरू मलका लागि टेन्डर भएर त्यो पनि ल्याउने प्रक्रिया पनि सुरु भएको छ । अहिले प्रक्रिया सुरु भए पनि एक/डेढ महिनापछि मात्र आइपुग्ने उनले बताए ।

रासायनिक अनुदान मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गर्दै आएका छन् । यी दुई कम्पनीले ग्लोबल टेन्डरमार्फत मल खरिद गर्छन् । ग्लोबल टेन्डरमार्फत आयात गर्दा पाँचदेखि छ महिना लाग्ने गरेको छ । सरकारले मलको अभाव नहोस् भनेर प्रत्येक वर्ष रासायनिक मलमा अनुदान वृद्धि गर्दै आएको छ तर प्रत्येक साल यो बेला मलको हाहाकार हुँदै आएको छ ।


क्याटेगोरी : कृषि
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार